काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिका कलाकार अरुण क्षेत्रीले निर्वाह गर्ने भएका छन्। निर्माण टिमले बुधबार उनको नाम सार्वजनिक गर्दै लामो समयदेखि रहेको कौतुहलताको अन्त्य गरेको हो।
रियल लाइफमा मदनकृष्णका जीवनयात्राका सहयात्री रहेका हरिवंश अब पर्दामा अरुण क्षेत्रीको रूपमा देखिनेछन्। हाल प्रदर्शनरत ब्लकबस्टर चलचित्र ‘गौँथली’का मुख्य अभिनेता रहेका अरुणले ‘म मदनकृष्ण’सँगै भविष्यमा निर्माण हुने हरिवंश आचार्यको बायोपिकका लागि पनि एकैपटक सम्झौता गरेका छन्।
निर्देशक मिलन चाम्सका अनुसार हरिवंशको भूमिकाका लागि सक्षम कलाकारको खोजी गर्ने क्रममा अरुणलाई छनोट गरिएको हो। उनका अनुसार अरुणले यो पात्रलाई न्याय गर्ने विश्वास निर्माण टिमको छ। यसअघि निर्माण टिमले मदनकृष्णको भूमिकामा महेश त्रिपाठी र उनकी श्रीमती यशोदा श्रेष्ठको भूमिकामा केकी अधिकारीलाई अनुबन्ध गरिसकेको छ।
मिलन चाम्सको निर्देशनमा बन्ने यो चलचित्रले मदनकृष्णको बाल्यकाल, सरकारी सेवाको अनुभव, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाह तथा जीवनका संघर्ष र सफलताको यात्रालाई समेट्नेछ। चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा बन्ने चलचित्रका निर्माता राजकुमार श्रेष्ठ हुन्। केही दिनअघि निर्माण घोषणा गरिएको यो चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले कीर्तिमानी मूल्यमा खरिद गरिसकेको निर्माण पक्षले जनाएको छ। भदौ दोस्रो सातादेखि छायाङ्कन सुरु हुने चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन्।






२० श्रावण २०८३, बुधबार १६:०५ 









