काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘ए मेरो हजुर ५’को शुभमुहूर्त गरिएको छ। निर्माण टिमले शुक्रबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरेको हो।
बंगलामुखी मन्दिरमा मुहूर्तको दृश्य खिचेपछि निर्माण टिम बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा छायांकनका लागि प्रस्थान गरेको निर्देशक थापाले बताएकी छन्।
बडीमालिकामा छायांकन गर्न पाउँदा आफूहरू गौरवान्वित भएको बताउँदै थापाले बडीमालिका धार्मिक स्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएको उल्लेख गरेकी छन्।
चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन्। यो उनीहरूको तेस्रो सहकार्य हो। यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’मा एकसाथ अभिनय गरेका थिए। दुवै चलचित्रमा अनमोल र सुहानाको जोडीलाई दर्शकले रुचाएका थिए।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सुनिलकुमार थापा हुन्। कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन्।
चलचित्रमा अनमोल र सुहानासँगै दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी र आशा भुसाललगायत कलाकारको अभिनय रहनेछ। यसपटक निर्देशक झरना थापा आफैं पनि अभिनयमा देखिने भएकाले उनको भूमिकालाई लिएर दर्शकमाझ कौतुहलता बढेको छ।

‘ए मेरो हजुर’को पहिलो श्रृंखलामा मुख्य भूमिकामा अभिनय गरेकी झरना करिब २५ वर्षपछि पाँचौँ श्रृंखलामा अभिनयमा फर्किन लागेकी हुन्। उनले पहिलो श्रृंखलाकै भूमिका दोहोर्याउने हुन् वा नयाँ पात्रमा देखिने हुन् भन्ने निर्माण पक्षले खुलाएको छैन। चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ। गीतमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर, एकदेव लिम्बू तथा टिमको संगीत रहनेछ भने उदय राज पौडेलले संगीत संयोजन गर्नेछन्।
प्राविधिक टिममा नवराज शर्मा प्रमुख सहायक निर्देशक, अनिल दाहाल र प्रकाश थापा सहायक निर्देशक, रञ्जित कोइराला निर्माण सहायक तथा सरिन पोखरेल कास्टिङ निर्देशक छन्। कुमार सिलवाल प्रोडक्सन डिजाइनर रहेका छन्। त्यस्तै साहिल खान पोस्ट–प्रोडक्सन प्रमुख, राजन मोक्तान रङ संयोजक, उत्तम न्यौपाने ध्वनि मिश्रण, सुशिला श्रेष्ठ ओन्टा तथा छारिफ सार्जन ओन्टा ड्रेस डिजाइन र रोनिशा अधिकारी स्टाइलिस्ट तथा मेकअप/हेयरमा छन्।
चलचित्रलाई काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछन्। दिनेश सिटौला फिल्म्स (सीपी जैसी) मिडिया संयोजक तथा टौवा प्रोडक्सन पब्लिसिटी डिजाइनरका रूपमा जोडिएका छन्। ‘ए मेरो हजुर’का यसअघिका चारै श्रृंखलाले व्यावसायिक सफलता पाएका छन्। पहिलो श्रृंखला स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेका थिए भने दोस्रो श्रृंखलादेखि झरना थापाले निर्देशनको जिम्मेवारी सम्हाल्दै आएकी छन्।
‘ए मेरो हजुर ५’ नेपाली नयाँ वर्ष २०८४को अवसरमा देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ।






२९ श्रावण २०८३, शुक्रबार १६:२४ 









