काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, चुनौती, संघर्ष र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले सार्वजनिक गरेको ट्रेलरमा समुद्री सतहदेखि सगरमाथाको चुचुरोसम्मको रोमाञ्चक यात्रासँगै मानवीय साहस, संघर्ष र दृढ संकल्पलाई प्रस्तुत गरिएको छ ।
उमेर, शारीरिक सीमा र परिस्थितिलाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याउने ५० वर्ष नाघेका राज गुरुङको यात्रा वृत्तचित्रको प्रमुख कथाका रूपमा प्रस्तुत गरिएको छ । उनको यात्रा केवल हिमाल आरोहणको कथा नभई सपना, आत्मविश्वास, संघर्ष र असम्भवलाई सम्भव बनाउने मानवीय इच्छाशक्तिको कथा बनेको निर्माण पक्षको भनाइ छ ।
वृत्तचित्रमा सगरमाथाको प्राकृतिक सुन्दरता मात्र नभई आरोहणका क्रममा आइपर्ने जोखिम, शेर्पा समुदायको योगदान तथा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा भइरहेको परिवर्तनलाई समेत समेटिएको छ ।
निर्माण पक्षका अनुसार ‘रोड टु एभरेस्ट’मा कुनै पनि कृत्रिम वा कम्प्युटरबाट सिर्जित दृश्य प्रयोग गरिएको छैन । शतप्रतिशत नेपाली प्राविधिकको संलग्नतामा तयार भएको यो वृत्तचित्र दुई वर्षको अनुसन्धान, छायांकन तथा निर्माणपछि तयार गरिएको हो ।
वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्देशक निर्मल श्रेष्ठले लेखेका हुन् । चर्चित सञ्चारकर्मी भूषण दाहालको आवाज रहेको वृत्तचित्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको छ ।
निर्मल श्रेष्ठको निर्देशनमा बनेको ‘रोड टु एभरेस्ट’मा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पाको समेत यात्रा देख्न पाइनेछ । फुर्वाले सगरमाथाको १८ पटक सफल आरोहण गरिसकेका छन् भने निमाले १० पटक सगरमाथा आरोहण गर्नुका साथै विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमालको सफल आरोहण गरेका छन् ।
यस यात्रामा विनोद गुरुङ, सुरज गुरुङ र स्वयं निर्देशक निर्मल श्रेष्ठ पनि सहयात्री पात्रका रूपमा प्रस्तुत छन् ।
सामाजिक संस्था ‘वि विल राइज फाउण्डेसन’को निर्माणमा तयार भएको यो ५० मिनेट लामो वृत्तचित्रले नेपालको पर्यटन प्रवर्द्धनसँगै हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको असरबारे विश्वव्यापी ध्यानाकर्षण गराउने लक्ष्य राखेको छ ।
‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर भदौ ६ गते काठमाडौंमा र अन्तर्राष्ट्रिय प्रिमियर भदौ २८ गते हङकङमा आयोजना हुने निर्माण पक्षले जनाएको छ । त्यसपछि नेपालका विभिन्न स्थान तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, सिनेमा हल र अन्य मञ्चमा वृत्तचित्र प्रदर्शन गर्ने तयारी गरिएको छ ।
सार्वजनिक ट्रेलरले सगरमाथालाई केवल एउटा हिमाल नभई साहस, संघर्ष, सपना र मानवीय अठोटको प्रतीकका रूपमा प्रस्तुत गरेको छ ।






२९ श्रावण २०८३, शुक्रबार १६:२९ 









