काठमाडौं । गोर्खाली सैनिकको इतिहासलाई केवल युद्ध र वीरताको कथामा सीमित नराखी त्यससँग जोडिएको मानवीय पीडा, पहिचान, विभेद र शान्तिको खोजलाई प्रस्तुत गर्ने नाटक ‘आयो गोर्खाली फर पिस’ काठमाडौंमा मञ्चन हुने भएको छ।
सेप्टेम्बर २८ र २९ अर्थात् असोज १२ र १३ गते कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक मञ्चन हुनेछ। दुवै दिन साँझ ५ः१५ बजेबाट सुरु हुने नाटकमा नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागिता रहेको छ।
मामुनुर रसिदको निर्देशन तथा मोक चिउ युको लेखन रहेको नाटकले गोर्खाली सैनिकहरूको ऐतिहासिक यात्रामार्फत युद्धले मानिसको जीवन र समाजमा पार्ने प्रभावलाई प्रस्तुत गर्ने प्रयास गरेको छ।
प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धदेखि मलायन इमर्जेन्सी हुँदै हङकङसम्मको ऐतिहासिक परिवेशलाई समेटिएको नाटकमा सैनिकको वीरतासँगै उनीहरूले भोगेका अनुभव, बलिदान र त्यसपछाडिको मानवीय पक्षलाई केन्द्रमा राखिएको छ।
युद्धभूमिमा हुने संघर्षभन्दा पर पुगेर नाटकले युद्धले मानिसको जीवनमा पार्ने प्रभाव, त्यसको मानवीय मूल्य र शान्तिको आवश्यकताबारे प्रश्न उठाउने प्रयास गरेको छ। पहिचान, मानवता, न्याय र विभेदका विषयलाई गोर्खाली सैनिकको इतिहाससँग जोड्दै प्रस्तुत गरिएको यस नाटकले विगतका घटनामार्फत वर्तमानमा शान्तिको आवश्यकता र महत्वबारे संवाद गर्ने उद्देश्य राखेको छ।
नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारको सहकार्यमा तयार भएको ‘आयो गोर्खाली फर पिस’ ले गोर्खाली इतिहासलाई नयाँ दृष्टिकोणबाट मञ्चमा ल्याउँदै युद्धको कथाभन्दा मानवीय अनुभूति र शान्तिको खोजलाई प्राथमिकतामा राखेको छ।







११ आश्विन २०८३, आईतवार १२:५४ 









