काठमाडौं । पछिल्लो समय चर्चित गायक प्रमोद खरेल आफ्नो ब्याण्ड सहित खुबै ब्यस्त छन् । देश तथा बिदेशमा बिभिन्न कन्सर्ट गर्ने क्रममा प्रमोद एण्ड परम्परा ब्याण्ड यतिबेला अस्ट्रेलिया पुगेको छ । ब्याण्डका ८ सदस्य सहित प्रमोदले शनिबार (१० अक्टोबर) अस्ट्रेलियाको पर्थमा भव्य सांगीतिक प्रस्तुति दिने भएका छन्। ‘नेपाल फेस्टिभल पर्थ २०२६’ अन्तर्गत आयोजना हुने कार्यक्रममा प्रमोद एण्ड परम्परा ब्याण्डले नेपाली गीतसंगीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।
एनआरएनए वेस्टर्न अस्ट्रेलियाको आयोजनामा हुने महोत्सव पर्थस्थित वेलिङ्टन स्क्वायरमा बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। नेपाली कला, संस्कृति, संगीत, खानपान र समुदायलाई जोड्ने उद्देश्यले आयोजना हुने महोत्सवमा प्रमोद खरेल र परम्परा ब्याण्डको प्रस्तुति मुख्य आकर्षणमध्ये एक रहनेछ।
केही दिनअघिसम्म नेपालमै ‘सुरताल म्युजिकल टुर २०८३’ मा व्यस्त रहेका प्रमोदले तेह्रथुम, धनकुटालगायतका स्थानमा आयोजित कार्यक्रममा दर्शकलाई आफ्ना गीतमा झुमाएका थिए। नेपालका विभिन्न स्थानमा सांगीतिक प्रस्तुति दिएपछि उनी अहिले अस्ट्रेलियामा छन्।

पर्थको कार्यक्रम सम्पन्न गरेपछि प्रमोद पुनः नेपाल फर्किनेछन्। त्यसपछि उनी नेपालमा आयोजना हुने विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुँदै व्यस्त रहनेछन्।
नेपाली समुदायको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको ‘नेपाल फेस्टिभल पर्थ २०२६’ मा प्रमोद खरेल र परम्परा ब्याण्डको प्रस्तुतिले अस्ट्रेलियामा रहेका नेपाली दर्शकलाई नेपाली संगीतसँग जोड्ने अपेक्षा गरिएको छ।




२३ आश्विन २०८३, शुक्रबार १८:४० 









