काठमाडौं । गत वर्ष प्रदर्शनमा आएको चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायाङ्कन सुरु भएको छ। निर्देशक नवीन चौहानले सिक्किमको युमथाङ उपत्यकाबाट चलचित्रको छायाङ्कन शुभारम्भ गरेका हुन्।
स्थानीय लामा गुरुहरूद्वारा मन्त्र उच्चारणसहित शुभमुहूर्त गरेपछि सोमबारदेखि छायाङ्कन सुरु गरिएको निर्देशक चौहानले जानकारी दिएका छन्। छायाङ्कनको पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्य खिचिएका छन्।
छायाङ्कन शुभारम्भ कार्यक्रममा सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, कल्चरल बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई, एडीसी, भारतीय सेनाका प्रतिनिधि तथा स्थानीय लामा गुरुहरूको उपस्थिति थियो।

निर्देशक चौहानका अनुसार ‘कलेजी’ले ‘ऊनको स्वीटर’मा प्रस्तुत गरिएका कथा, पात्र र भावनात्मक सम्बन्धलाई थप विस्तार गर्नेछ। काफ्ले, फूल, डम्बर र ईक्क्षाका कथासँगै नयाँ चलचित्रमा प्रेम, जीवन र मानवीय संवेदनाका थप आयाम प्रस्तुत गरिनेछ।
नेपाल, दार्जिलिङ, सिक्किम र दिल्लीमा छायाङ्कन गरिने चलचित्रको निर्माण आर्टमाण्डुले गर्दैछ। चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानको छ भने अभिषेक सुवेदी सहलेखक तथा प्रमुख सहायक निर्देशकका रूपमा छन्। चिन्तन राजभण्डारीले छायाङ्कनको जिम्मेवारी सम्हालेका छन् भने कोविद बज्रको सङ्गीत रहनेछ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई र रुश्मा राईलगायतका कलाकारको अभिनय रहनेछ। ‘ऊनको स्वीटर’ले दर्शकमाझ बनाएको भावनात्मक सम्बन्धलाई नयाँ कथा र परिवेशमार्फत निरन्तरता दिने लक्ष्य राखिएको ‘कलेजी–ऊनको स्वीटर’को प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।




११ कार्तिक २०८३, मंगलवार १३:३४ 









