नयाँ फिल्म ‘नौ डाँडा काटेर’को निर्माण घोषणा

...

काठमाडौँ । नयाँ नेपाली फिल्म ‘नौ डाँडा काटेर’ को निर्माण घोषणा गरिएको छ । यो फिल्म निर्देशक राजु श्रेष्ठको निर्देशनमा बन्ने भएको हो । हाल छायांकनको अन्तिम चरणमा रहेको सिनेमा ‘कंगाल करोडपति’का निर्देशक श्रेष्ठले कोजाग्रत पूर्णिमाको अवसर पारेर आफ्नो नयाँ फिल्मको घोषणा गरेका हुन् ।

निर्देशक श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो नयाँ निर्देशकीय फिल्मको नाम सार्वजनिक गरेका हुन् ।

फिल्म पाठशालाको ब्यानरमा निर्माण हुने ‘नौ डाँडा काटेर’लाई अनिल कुमार बुढाथोकीले निर्माण गर्नेछन् । सिनेमाको कार्यकारी निर्मातामा ईश्वर बल्लभ उप्रेती रहेका छन् भने लाइन प्रोड्युसरको जिम्मेवारी सुरज कुमारले सम्हाल्नेछन् ।
फिल्मको कथा तथा पटकथा रंग पत्रकार एवं फिल्म निर्माता रघुनाथ सापकोटाले तयार पार्नेछन् ।

निर्देशक श्रेष्ठले फिल्मका अन्य कलाकार तथा प्राविधिक टोलीका बारेमा भने आफ्नो हाल निर्माणाधीन फिल्म ‘कंगाल करोडपति’को छायांकन प्याकअप भएपछि जानकारी दिने बताएका छन् । ‘नौ डाँडा काटेर’को थप विवरण सार्वजनिक हुन बाँकी रहेकाले फिल्मको कलाकार छनोट, छायांकन तालिका तथा प्रदर्शन मितिबारे भने प्रतीक्षा गर्नुपर्नेछ ।