फेरी सुरताल म्युजिकल टुर सुरु हुँदै

...

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित तीन कलाकार देवेन्द्र बब्लु, प्रकाश सपूत र प्रमोद खरेल आ–आफ्नो ब्याण्डसहित ‘सुरताल म्युजिकल टुर’ लिएर देश दौडाहामा निस्किएका छन्। सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रा.लि.को आयोजनामा भइरहेको उक्त सांगीतिक यात्रा सातै प्रदेशका विभिन्न सहरमा सञ्चालन भइरहेको छ।

यस सांगीतिक टुरमा गायक देवेन्द्र बब्लुको ‘फिरन्ते ब्याण्ड’, प्रकाश सपूतको ‘भाका ब्याण्ड’ र प्रमोद खरेलको ‘परम्परा ब्याण्ड’ले प्रस्तुति दिइरहेका छन्। तीन कलाकारले आ–आफ्नो ब्याण्डसहित प्रत्यक्ष सांगीतिक प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेका छन्।

आयोजक संस्था सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रा.लि.की कोषाध्यक्ष सरला कोइरालाका अनुसार यसअघि दशैंअघि संखुवासभा, धनकुटालगायत पूर्वी नेपालका विभिन्न स्थानमा टुरअन्तर्गतका कन्सर्ट भव्य रूपमा सम्पन्न भएका थिए। दर्शकको उत्साहजनक सहभागितापछि पुनः टुरलाई निरन्तरता दिइएको उनले बताइन्।

अब मंसिर २ गते महेन्द्रनगरको खुलामञ्चबाट पुनः सांगीतिक यात्रा सुरु हुनेछ। त्यसपछि मंसिर ५ गते धनगढीमा कार्यक्रम आयोजना हुनेछ। त्यसक्रममा कोहलपुर, सुर्खेत, तुलसीपुर, बुटवल, चितवन, धरान र बर्दिबासलगायतका सहरमा पनि सांगीतिक प्रस्तुति रहनेछ।

यसरी विभिन्न सहरको यात्रा गर्दै उक्त टुर आगामी पुस ४ गते पोखराको अमरसिंह खेलमैदानमा पुगेर समापन हुने आयोजकले जनाएको छ। यद्यपि, दर्शकको माग र स्थानीयस्तरबाट प्राप्त प्रतिक्रियालाई मध्यनजर गर्दै यसबीच पूर्वी नेपालका केही थप स्थानमा समेत कन्सर्ट आयोजना हुन सक्ने सम्भावना रहेको कोइरालाले जानकारी दिइन्।

तीन लोकप्रिय कलाकार र उनीहरूका छुट्टाछुट्टै ब्याण्डको प्रत्यक्ष प्रस्तुति रहने भएकाले ‘सुरताल म्युजिकल टुर’ले नेपाली सांगीतिक क्षेत्रमा फरक खालको सांगीतिक माहोल सिर्जना गर्ने अपेक्षा आयोजकको छ।