काठमाडौं । मिसेस वर्ल्ड २०२५ की विजेता चानिता ‘स्यामी’ सिडाकेट क्रेथोर्न भोलि शुक्रबार काठमाडौं आउने भएकी छन्। आगामी कार्तिक १४ गते आयोजना हुन लागेको ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को फिनालेमा अतिथिका रूपमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन्।
थाई–ब्रिटिस पृष्ठभूमिकी स्यामी शुक्रबार बिहान ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। उनलाई मिसेस नेपाल वर्ल्डको आयोजक संस्था रिबन इन्टरटेनमेन्टले निमन्त्रणा गरेको हो।
स्यामीले सन् २०२६ को जनवरीमा अमेरिकाको लस भेगासमा आयोजित मिसेस वर्ल्ड २०२५ को उपाधि जितेकी थिइन्। उनले विभिन्न देशका प्रतिस्पर्धीलाई पछि पार्दै प्राप्त गरेको यो सफलतालाई थाइल्यान्डका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
सौन्दर्य प्रतियोगितामा प्राप्त सफलतासँगै स्यामी मानवीय सेवा, सञ्चार तथा महिला सशक्तीकरणका क्षेत्रमा पनि सक्रिय छन्। उनी सेभ द चिल्ड्रेन थाइल्यान्डसँग आबद्ध छिन्। आमाहरूको मानसिक स्वास्थ्य र भावनात्मक सुस्वास्थ्यबारे जनचेतना फैलाउने अभियानमा समेत उनी संलग्न छिन्।
नेपालमा आयोजना हुन लागेको मिसेस नेपाल वर्ल्ड २०२६ को फिनालेमा उनको उपस्थिति प्रतियोगिताको अन्तर्राष्ट्रिय आकर्षण बढाउने अपेक्षा गरिएको छ। विश्व उपाधि विजेताको अनुभव र उपस्थितिले नेपाली प्रतिस्पर्धीलाई पनि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको मञ्चबारे बुझ्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ। मिसेस नेपाल वर्ल्ड २०२६ को फिनाले आगामी कार्तिक १४ गते आयोजना हुँदैछ।




१३ कार्तिक २०८३, बिहीबार १७:३९ 








