आजबाट प्रदर्शनमा आए दुई नेपाली चलचित्र ‘ककाकिकी’ र ‘सारथी’

...

काठमाडौं । आज शुक्रबारदेखि दुई नेपाली चलचित्र ‘ककाकिकी’ र ‘सारथी’ एकसाथ प्रदर्शनमा आएका छन्। दुवै चलचित्रले फरक विषयवस्तु र कथावाचनमार्फत दर्शकमाझ आउने तयारी गरेका हुन्।

प्रदर्शनको पहिलो दिन ‘ककाकिकी’ले देशभरका ७० भन्दा बढी हलमा शो पाएको छ भने ‘सारथी’ले ५० भन्दा कम शो प्राप्त गरेको छ। शो संख्याका हिसाबले ‘ककाकिकी’ले तुलनात्मक रूपमा बढी हल र शो पाएको देखिन्छ।

बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको चलचित्र ‘ककाकिकी’ कमेडी जनरामा आधारित छ। कुलेबारी गाउँका बासिन्दाले गाउँमा अस्पताल निर्माण गर्ने सपना पूरा गर्न खोज्दा उत्पन्न हुने परिस्थिति चलचित्रको मुख्य कथावस्तु हो। अस्पताल बनाउन आवश्यक रकम जुटाउन बैंक लुट्ने योजनासमेत बनाइएपछि कथा रोचक मोडमा पुग्छ।

चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माओत्से गुरुङ, सुभाष गजुरेल, रियर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (माकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, विश्वास तिमल्सिना (बीटी कान्छा), सुजना श्रेष्ठ, एलिशा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय छ।

श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको चलचित्रको कथा तथा अवधारणा सुमन अग्रवालको हो। बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले लेखन गरेका छन् भने विश्वास तिमल्सिना (बीटी कान्छा)ले स्क्रिप्ट डाक्टरको जिम्मेवारी सम्हालेका छन्। सुदीप बराल छायांकार रहेको चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटल र अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले लिएको छ।

त्यस्तै, कुमार गजुरेलको निर्देशनमा बनेको चलचित्र ‘सारथी’ले म्याग्दीको दुर्गम गुर्जा गाउँको ग्रामीण परिवेश र जीवनशैलीलाई पर्दामा प्रस्तुत गरेको छ। आमा र छोराबीचको मर्मस्पर्शी सम्बन्ध तथा उनीहरूले भोग्ने संघर्ष चलचित्रको मुख्य कथावस्तु हो। चलचित्रका निर्देशक गजुरेलकै कथा, पटकथा तथा संवाद रहेको छ।

‘सारथी’मा निरुता सिंह, उत्तम प्रधान, गिरि विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारले अभिनय गरेका छन्।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो। संकल्प भुजेलले छायांकन गरेको चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् भने रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता हुन्। बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता तथा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता छन्। अमिर केसी लाइन प्रोड्युसर रहेको चलचित्रमा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत छ। राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशक हुन्। चलचित्रको वितरण आरआर फिल्म्सले गरेको छ।

फरक कथावस्तु र विधाका यी दुई चलचित्रमध्ये ‘ककाकिकी’ले कमेडीमार्फत दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ भने ‘सारथी’ले ग्रामीण जीवन, पारिवारिक सम्बन्ध र आमा–छोराको भावनात्मक संघर्षलाई प्रस्तुत गर्नेछ। अब दुवै चलचित्रको व्यावसायिक सफलता दर्शकको प्रतिक्रियामा निर्भर रहनेछ।