माघ, काठमाडौं ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर झोले’ले मध्यम ब्यापार गर्दै आएको छ । प्रदर्शनको सुरुवातका दुईदिन राम्रै दर्शक कमाएको यो चलचित्र हेर्न अहिलेपनि हलहरुमा दर्शक केहिमात्रामा आइरहेका छन् । साथै चलचित्र टीमले चलचित्रको लगानीबाट सुरक्षित रहेको जानकारी दिएको छ । बिहिबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गर्दै चलचित्र टीमले लगानी सुरक्षित भएको भन्दै एकसाताको कलेक्सन समेत सार्वजनिक गरिएको थियो ।

चलचित्रका निर्माता टेकेन खड्काले बिहिबारसम्मको कलेक्सन जम्मा २ करोड ४८ लाख भएको जानकारी दिए । उनका अनुसार राजधानीभित्रबाट १ करोड ४५ लाख र मोफसलबाट १ करोड ३ लाख कलेक्सन भएको छ । साथै कार्यक्रममा चलचित्रको लगानी १ करोड ५ लाख रहेकोले अब लगानी सुरक्षित भएको पनि जानकारी दिइयो । ‘अहिलेसम्म हाम्रो लगानी सुरक्षित भइसकेको छ । डिजिटल राइट्सका कुरामा पनि छलफल भइरहेको छ । अब हामी मुनाफामा जादैछौं ।’, निर्माता खड्काले भने ।

साथै निर्माता खड्काले कार्यक्रम आयोजना गर्नुको उद्देश्य चलचित्रका सिक्वेल निर्माणको घोषणा नरहेको जानकारी दिएका थिए । ‘धेरैले चलचित्र प्रदर्शन भइसकेपछिको पत्रकार भेटघाटमा चलचित्रको सिक्वेलको घोषणा गर्छन् तर हामीले मिस्टर झोलेको सिक्वेल घोषणाका लागी यो कार्यक्रम आयोजना गरेका होइनौं । मात्र चलचित्र सफल भएसँगै अन्तक्रिया गरौं भन्ने मनसाय हो ।’, खड्काले भने । त्यस्तै चलचित्रमा मुख्य कलाका दयाहाङ राईले पनि आफुलाई पनि चलचित्रको कलेक्सनले प्रभाव पार्ने बताए । ‘मलाई पनि चलचित्रको कलेक्सनले प्रभाव पार्छ । आजैमात्र निर्देशक र निर्माता ज्यूले लगानी सुरक्षित भयो भनेर जानकारी दिनुभयो । खुसी लाग्यो ।’, दयाहाङले भने । यस्तै कार्यक्रममा कार्यकारी निर्माता रौनक बिक्रम कँडेलले पनि आफ्ना भनाई राखेका थिए ।

च्लचित्रका निर्देशक रामबाबु गुरुङ पनि दर्शकबाट पाएको प्रतिक्रियाबाट खुसी भएको बताउँछन् । ‘मिस्टर झोले’, ‘कबड्डी’ फ्लेवरको चलचित्र लाग्यो भन्ने आरोपलाई पनि निर्देशक गुरुङले प्रष्ट्याउने प्रयास गरे । ‘दर्शक र मिडियाकर्मीबाट पाएको प्रतिक्रियालाई म सम्मान गर्छु । हो, मैले ‘कबड्डी’ जस्तै चलचित्र बनाएको हुँ । मबाट दर्शकले धेरै ठूलो अपेक्षा गर्नुहुन्छ । यो प्रतिक्रियाले पनि म अझ सुध्रिनु पर्छ भन्ने लाग्छ ।’ उनले भने । उनले ‘मिस्टर झोले’मा कथा नै नभएको बताए । चलचित्रका निर्माता खड्काले निर्देशक गुरुङलाई २५ लाख पारिश्रमिक दिइएको जानकारी गराएका थिए ।

गाउँको रोचक कथामा निर्माण भएको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् भने कथा पनि उनकै हो । रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो चलचित्रलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् । रिलिजपूर्व नै हिट बनेको ‘ओखती’ बोलको गीतले पनि फिल्मको व्यापारमा ठूलो सहयोग पुगेको छ ।

चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।