दर्शकको मन जित्दै ‘प्रसाद २’ ट्रेलर

...

चैत, काठमाडौँ । यहि चैत २४ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको नेपाली चलचित्र ‘प्रसाद २’को चर्चा बढ्दै गएको छ । चलचित्रको प्रचार सामाग्री सार्वजनिक भइरहेका छन् । विशेषगरि, यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसको कथावस्तु र प्रस्तुतिलाई लिएर दर्शकमा व्यग्र प्रतिक्षा बढेको हो ।

सुशिल पौडेलको कथामा तयार भएको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत छ । यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । सुदर्शन नेपाली चलचित्र क्षेत्रमा लभ स्टोरी धारका फिल्म बनाउन माहिर निर्देशक मानिन्छन् । तर, उनले सामाजिक कथावस्तुमा उत्कृष्ट चलचित्र बनाएको दाबी गरेका छन् । लेखक सुशिल पौडेल पनि ‘प्रसाद २’ ‘प्रसाद’ भन्दा अझै उत्कृष्ट बनेको दाबी गर्छन् ।

यसैबिच, यो चलचित्रको निर्माणपक्षले भोली ‘मार्सी धान’ बोलको गीत सार्वजनिक गर्दैछ । गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै संगीत र शब्द छ ।

तर, यो गीतमा म्युजिक भिडियोको हिट जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीलाई देख्न सकिन्छ । उनीहरुको सरप्राइज उपस्थितले दर्शकमा गीतप्रति झनै उत्साह बढ्ने निश्चित छ । फिल्ममा नायक विपिन कार्की र नायिका केकी अधिकारी मुख्य भूमिकामा छन् । कलाकार अर्पण थापाको भूमिकाले दर्शकमाझ चर्चा पाइसकेको छ । केकी, विपिन, सरोज र आश्मा गीतको भिडियोमा छमछमी नाचेका छन् ।

सुभाष थापाको प्रस्तुतिमा तयार भएको चलचित्रका निर्माता सुदर्शन बस्नेत हुन् । एजी फिल्मस्सँग सुलभ थापा प्रोडक्शनले सहकार्य गर्दै यो चलचित्र बनेको हो ।