काठमाडौं उपत्यकामा रोकियो ‘आदिपुरुष’को प्रदर्शन

...

असार, काठमाडौँ । बलिउड चलचित्र ‘आदिपुरुष’को काठमाडौं महानगरपालिका भित्र प्रदर्शन रोकिएको छ । काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी चलचित्र चल्न नदिने निर्णय गरेपछि हलवालाहरुले सोमबारदेखि हिन्दी चलचित्र प्रदर्शन रोकेका हुन् ।

महानगरको आदेशलाई मान्दै आफूहरुले हिन्दी फिल्मको प्रदर्शन रोकेको हल सन्चालकहरुले जनाएका छन् । मेयर बालेनले सोमबारदेखि महानगरमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए । गतबिहीबार उनले तीन दिनभित्र विवादित संवाद भारतबाटै नसच्यासम्म कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने बताएका थिए ।

ओम राउतले निर्देशन गरेको चलचित्रमा प्रभास रामको भूमिकामा देखिएका छन् भने कृति सेनन सीताको भूमिकामा देखिएकी छन् । सैफ अली खान रावणको भूमिकामा देखिएका छन् । यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ ।

पोखरा महानगरपालिकामा पनि प्रदर्शन रोक
भारतीय चलचित्र ‘आदिपुरुष’को प्रदर्शनमा पोखरा महानगरपालिकाले पनि रोक लगाएको छ । पोखराका चलचित्र हलहरुलाई पत्र पठाउँदै मेयर धनराज आचार्यले यस्तो निर्णय गरेका हुन् । स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन हललाई पत्र पठाइएको हो ।