साउन, काठमाडौँ । नेपाली चलचित्र ‘जय हो’को नयाँ गीत ‘राजा-रानी’ सार्वजनिक गरिएको छ । शुक्रबार बिहान एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले गीत सार्वजनिक गरेको हो । आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको उक्त सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत र अभिनेत्री केकीलाई देख्न सकिन्छ । उक्त रोमान्टिक गीतले उनीहरुको प्रेमभाव बोल्छ । गीतमा सागर आले मगर र सदिक्ष्या कट्टेलको स्वर छ भने सागर स्वयंको शब्द तथा संगीत छ ।
गीत सार्वजनिक भएसँगै सलोन शुक्रबार साँझ अष्ट्रेलियातर्फ जाँदैछन् । चलचित्रको प्रदर्शनका लागि उनी अष्ट्रेलिया जान लागेका हुन् । यसैले उनी उड्नुभन्दा अगाडि निर्माण टिमले पत्रकारसँग भेटघाट गर्दै नयाँ गीत सार्वजनिक गरेको हो । अष्ट्रेलिया जाने निश्चित भएपछि सलोन दुई हप्ता चलचित्रको प्रचारमा राम्रै खटेका थिए । अब चलचित्रको प्रचारमा अरु कलाकार सक्रिय हुने जनाइएको छ ।
टेक पौरखी राईद्वारा निर्देशित चलचित्रमा केकी र सलोनसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुवी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।
चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । चलचित्रका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । सलोन सलिना फिल्म्स्को व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् । चलचित्रलाई मुस्ताङ र पोखरा क्षेत्रमा खिचिएको हो ।