‘भष्मे डन’को ट्रेलर सार्वजनिकः प्रतिक्रियामा विपिनको तारिफ

...

असोज, काठमाडौँ । चलचित्र ‘पशुपतिप्रसाद २ः भष्मे डन’को ट्रेलर सार्वजनिक भएसँगै चर्चा बढ्न थालेको छ । बिशेषगरी चलचित्रमा विपिन कार्कीको भष्मे डन भूमिकालाई लिएर प्रतिक्षित बनेको यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि झनै चर्चा बढी भएको हो । चलचित्रमा विपिनसँगै सौगात मल्ल र स्वस्तिमा खड्काको शीर्ष भूमिका छ । सात वर्षअघि रिलिज भएको ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखलाको रुपमा बनेको यो चलचित्रले भष्मे डन पात्रको कथा पेश गर्छ ।

 ‘पशुपतिप्रसाद २’ भष्मे डन पात्रको नकारात्मकतादेखि सकारात्मकता तर्फको यात्राको कथा हो । अघिल्लो भागमा खलनायक चरित्रमा भष्मेलाई उतारेका निर्देशकले दोस्रो श्रृंखलामा भने उसमा आएको जीवनबोधलाई उतारेका छन् । भष्मे डनको भूमिकामा विपिन कार्कीले अभिनय गरेका छन् । साथै, ट्रेलरमा स्वस्तिमा खड्कासँग भष्मेको रोमान्टिक किस्सालाई पनि प्रस्तुत गरिएको छ । ट्रेलरको अन्त्यमा भष्मेले दिवंगत भइसकेको उसको मित्र पशुपतिप्रसादलाई स्मरण गर्छ । यो दृश्यले पक्कै पनि दर्शकलाई भावनात्मकरुपमा उद्देलित तुल्याउने पक्का छ ।

ट्रेलरमा प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, सजन थापा मगर, माओत्से गुरुङका चरित्रलाई पनि प्रस्तुत गरिएको छ । सात वर्षपछि पनि यी पात्रको जीवनमा खास ठूलो परिवर्तन छैन । उनीहरु पशुपति क्षेत्रमा बसिरहेका छन् ।

दशैंको फूलपातीमा प्रदर्शन हुने यो चलचित्र टुकी आर्ट्सको ब्यानरमा निर्माण गरिएको हो भने चलचित्रलाई खगेन्द्र लामिछानेले निर्माण गरेका हुन् ।