जेठ, काठमाडौँ । चलचित्र ‘ज्वाइँ साब’को छायांकन सुरु भएको छ । वसन्त निरौलाको निर्देशन रहने यो चलचित्रको शुक्रबार बिहान मकवानपुरको चित्लाङमा अवस्थित भैरव मन्दिरमा पुजा गर्दै छायांकन प्रारम्भ गरिएको हो ।
एक महिनासम्म यो चलचित्रलाई विभिन्न फरक लोकेशनमा खिचिनेछ । निर्माणपक्षले दिएको जानकारी अनुसार, यो फिल्मलाई चित्लाङमा २० दिन खिचिनेछ भने सौराहा र इलाममा पनि फिल्म खिच्ने तयारी गरिएको छ ।
चलचित्रका मुख्य कलाकारहरु जीतु नेपाल, नीति शाह लगायतले भैरव मन्दिरमा पुजा गरे । चलचित्रमा जीतु नेपाल शिर्ष भूमिकामा देखिदैछन् । जीतु र नीतिका अलवा चलचित्रमा वुद्दि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे, शिबु पाण्डे लगायतका कलाकारको अभिनय रहनेछ ।
यो चलचित्रमा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहनेछ । रेड आइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रका प्रस्तुतकर्ता राज कुमार पण्डित हुन् । चलचित्रमा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहनेछ । विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।
चलचित्र ‘ज्वाइँ साब’लाई समसामयिक कथामा निर्माण गर्न लागिएको निर्देशक निरौलाले जानकारी दिए । सामाजिक कथालाई कमेडी शैलीमा चलचित्रमा भन्न लागिएको उनले जानकारी दिए । यो चलचित्रलाई यो बर्षको तिहारमा रिलिज गर्ने तयारी समेत गरिएको छ ।