भदौ, काठमाडौं । आफ्नो स्थापना दिवसको अवसर पारेर नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको कार्यक्रममा ‘चलचित्र महासंघ’को अवधारणा अगाडि सारेको छ । कलाकार संघका अध्यक्ष रामकुमार बोगटीले सम्पूर्ण चलचित्रकर्मीलाई एउटै छानोमुनी एकिकृत गर्दै सिंगो चलचित्र क्षेत्रको विकास र यसमा आश्रति चलचित्रकर्मीहरुको हक अधिकारप्रति एउटै खालको अवधारणा बनाउनका लागि चलचित्रसँग सरोकार राख्ने संस्थाहरुको एउटै छाता संगठन बनाउनका लागि ‘चलचित्र महासंघ’को अवधारणा प्रस्तुत गरिएको बताएका छन् ।
महासंघको आवश्यकता किन भन्ने प्रश्नको जवाफ दिदै कलाकार संघले प्रस्तुत गरेको वुँदा यस्ता छन्ः
१. चलचित्र क्षेत्रको समग्र विकास लगानी, स्तर र बजारीकरण गर्न एकिकृत रुपमा चलचित्रकर्मीहरु संगठीत हुनुपर्ने भएकाले ।
२. पेशाकर्मीहरुको आवाज आ(आफ्नो ढंगले अघिवढे पनि संयुक्त अवधारणा सहित नेपाल सरकार लगायत अन्य सरोकार वालाहरुको वीच चलचित्र क्षेत्रको विकास, विस्तार र गुणस्तर र बजारको लागि संयुक्त पहल हुने भएकोले ।
३. महासंघमा आवद्ध भैसकेपछि पनि यसमा आवद्ध विभिन्न संघसंस्थाहरुको स्वतन्त्रता र स्वायत्ततामा कुनै बन्जेद नलागीकन पेशागत चलचित्रकर्मीहरुको हकहितका लागि महासंघ अझ सशक्त रुपमा अघि बढ्न सकिने भएकोले ।
४. नेपाल सरकारले स्विकृत गरेको नीतिलाई कानुनी कार्यान्वयन गराउने समय ढीला हुने अवस्था भइसकेकोले तत्काल संगठीत भई सो नीतिलाई कार्यान्वयन गर्न सहज हुने भएकाले ।