चलचित्र ‘नरसिंहाः अवतार’ मा सनिशा भट्टराई अनुबन्ध

...

साउन, काठमाडौँ । चलचित्र ‘नरसिंहाः अवतार’ मा कलाकार सनिशा भट्टराई अनुबन्धित भएकी छिन् । निर्देशक दिवाकर भट्टराई निर्देशन रहने यो चलचित्रमा यसअघि अभिनेता राजेश हमाल अनुबन्धित भएका थिए । हमालको अभिनय रहने भएसँगै चलचित्रको चर्चा बढ्दै गएको छ ।

अहिले कलाकारहरु छनौट गर्ने प्रक्रिया चलिरहेको छ । यसैबिच अहिले निर्माणपक्ष र सनिशा बीच लिखित संझौता भइसकेको छ । निर्माणपक्षले यो चलचित्रमा सनिशाको कस्तो भूमिका छ भन्ने बिषयमा भने केही पनि खुलाइएको छैन । आफूले निर्वाह गर्ने भूमिका र यो चलचित्रलाई लिएर आफू उत्साहित रहेको जानकारी सनिशाले दिइन् ।

सनिशाको यो दोस्रो चलचित्र हो । उनको डेब्यू अभिनय रहेको फिल्म १२ गाउँ फूलपातीमा रिलिज हुँदैछ । यस चलचित्रमा निती शाह पनि यसअघि नै अनुबन्धित भइसकेकी छन् ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्र यही भदौबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । चलचित्रको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ । निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।