‘नरसिंहाः अवतार’ मा मुख्य पात्रहरु फाइनल, प्रशान्त ताम्राकार पनि जोडिए

...

काठमाडौं । एक्सन तथा सोसल ड्रामामा बन्ने नयाँ चलचित्र ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ। निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्रका लागि अहिलेसम्म पाँचजना मुख्य पात्रहरु फाइनल भइसकेका छन् ।

कलाकाको लाइनअपमा अभिनेता प्रशान्त ताम्राकार पनि जोडिएका छन् । निर्माण पक्ष र ताम्राकारबीच मंगलबार लिखित सहमति भएको हो ।

निर्देशक भट्टराई र अभिनेता ताम्राकारले यस अघि ‘ऐश्वर्या’ र ‘मायावी’मा पनि सहकार्य गरेका थिए । ‘नरसिंहाः अवतार’मा ताम्राकारको कस्तो भूमिका हो भन्ने विषयमा केही नखुलाइए पनि चलचित्रको शीर्षमध्ये एक भूमिकामा अनुबन्धित गराइएको निर्देशक भट्टराईले जनाकारी गराए ।

यस अघि यो चलचित्रमा महानायक राजेश हमाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित भएका छन् । निर्माणपक्षले यो फिल्ममा यी सबैजना कलाकारको के कस्तो भूमिका छ भन्ने बिषयमा पनि केही खुलाइएको छैनन् ।

यही चलचित्रबाट ८ वर्षपछि महानायक हमालले कम्ब्याक गर्दैछन् । आठ वर्ष भन्दा धेरै समय पछि हमाल चलचित्रमा फर्किने खबरले यतिबेला नेपाली फिल्मवृत तताएको छ । यो चलचित्र उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ । जस कारण यो फिल्म प्रतिक्षित बन्ने निश्चित छ ।

यता, क्याप्टेनपछि निर्देशक भट्टराईको फिल्ममा अभिनेता सरोजले अभिनय गर्न लागेका छन् भने हमाल र खनाल ३० वर्षपछि सँगै एउटै चलचित्रमा देखिन लागेका हुन् । उनीहरुले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको चलचित्र ‘सडक’मा सँगै काम गरेका थिए । तीर्थ थापाले निर्देशन गरेको उक्त चलचित्रपछि यी दुईले सँगै काम गरेका छैनन् ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्र यही भदौको अन्तिम साता बाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । चलचित्रको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ । निर्देशक भट्टराईको अर्को चलचित्र ‘मायावी’ प्रदर्शनको तयारीमा छ । निर्देशक भट्टराईका अनुसार अब यो चलचित्रको केही दिनमै प्रदर्शन मिति तय गरिने छ ।