
काठमाडौँ । नेपाली कलाकारहरू केकी अधिकारी, आर्यन सिग्देल, दीपकप्रसाद आचार्यसहितका कलाकारको किटानी जाहेरीको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले रोशन पराजुलीविरुद्ध केही दिनअघि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
आफ्नो नाम र कागजात दुरुपयोग भएको भन्दै केकी, आर्यन, दीपकसहित अन्य केहीले २०७९ सालमै पराजुलीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा जाहेरी दिएका थिए । पराजुलीले कलाकारको आवरणमा नर्वेमा फिल्म छायांकन गर्छु भन्दै मानव तस्करी गरेको आरोप छ ।
फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि केकी र आर्यनसहित १४ जनालाई नर्वे लैजाने भन्दै रोशन पराजुली नामका व्यक्तिले दिल्लीस्थित नर्वेजियन दूतावासमा भिसाका लागि आवेदन दिएका थिए । दूतावासले काठमाडौंस्थित पर्यटन बोर्डमा टेलिफोन गरेर बुझेपछि यो प्रकरणको खुलासा भएको थियो । लगत्तै केकी, आर्यन र दीपकले फेसबुकमार्फत आफूहरुको संलग्नता नरहेको बताएका थिए । यसका लागि पराजुलीले नेपाल पर्यटन बोर्डको कागजात र हस्ताक्षर कीर्ते समेत गरेको आरोप छ ।