प्रकाश सपुतको ‘सोल्टिनी’ असोजमा

...

काठमाडौँ ।  प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर कथानक फिल्म ‘सोल्टिनी’को छायांकन सकिएको छ । पूर्वी नेपालका इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका लोकेसनमा छायांकन गरिएको थियो । ३६ दिनमा फिल्म इन्ड-कल्याप भएको छ । भोजपुरको अन्नपूर्ण गाउँमा भएको ‘इन्ड-क्ल्याप’ दृश्यमा परीक्षा लिम्बु, सब्बु गुरुङ, कविता आले, सुजाता गुरुङ र प्रेम सुब्बाले अभिनय गरेका छन् ।

फिल्ममा कलाकारको बाक्लो उपस्थिती छ जसमा प्रकाश सपुत, विल्सनविक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा छन् । सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’को मुख्य भूमिका निर्वाह गरेका छन् । यो जोडी पहिलोपटक एकसाथ पर्दामा देखिन लागेको हो ।

संगीत प्रशान्त शिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् । छायांकन सुसन प्रजापतिले गरेका छन् । प्लानेट थ्री फिल्सको प्रस्तुति, नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको फिल्ममा रेजिना बिष्ट र संसार चौलागाईं निर्माता हुन् । फिल्मको प्रदर्शन २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन हुने जनाइएको छ ।