
काठमाडौं । प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका छन् । ‘एक्टर’ का निर्माता सम्राट थापा र उनकी कम्पनी डायस्पोरा इन्टरटेनमेन्टविरुद्ध ‘एक्टर: टेक वन’ का निर्माताहरूले काठमाडौं जिल्ला अदालतमा ‘अनुचित सम्वृद्धि’ मुद्दा दर्ता गरेका छन् । शुक्रवार जारी गरिएको प्रेस विज्ञप्तिमा, मुद्दा किनारा नलाग्दासम्म चलचित्र प्रदर्शन रोक्ने निर्णय गरिएको उल्लेख छ । विज्ञप्तिमा चलचित्र रिलिजको एक दिन अघि, माघ १५ गते, अदालतको आदेश आएपछि झन्डै ३ दिन प्रदर्शन स्थगित गर्नुपरेको उल्लेख गरिएको छ ।
निर्माताहरूले यो अप्रत्याशित आदेशले दर्शकहरूलाई असुविधा पुर्याएको र ‘एक्टर’का निर्माताबाट आर्थिक ब्ल्याकमेलिङको प्रयास भएको दाबी गरेका छन् । निर्माताहरूका अनुसार, बाध्यतावश सहमति गरे पनि अहिले उक्त घटनालाई गलत ठहर गर्दै डायस्पोरा इन्टरटेन्मेन्ट प्रा.लि.र सञ्चालक सम्राट थापाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको हो ।
निर्माताहरूले विवाद समाधान नभएसम्म नेपालभित्र आइतबारदेखि ‘एक्टरस् टेक वन’ को प्रदर्शन स्थगित गर्ने निर्णय लिएको जनाएका छन् । “मुद्दा किनारा लागेपछि चलचित्र पुनः प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्छौँ,” विज्ञप्तिमा उल्लेख छ ।