
काठमाडौँ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले घरेलु बक्स अफिसमा राम्रै व्यापार ग¥यो । ६ करोडमा बनेको फिल्मले नेपालमै १० करोडमाथि कमाएको निर्माताको दाबी छ । भारतीय कम्पनी जी नेटवर्कलाई फिल्मको ओटीटी राइट्स समेत बिक्री गरिएको छ । यसबाट निर्माताले राम्रो रकम हात पारेका छन् । अब, यो फिल्मको दोस्रो श्रृंखला निर्माण गरिने भएको छ ।
फिल्मकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले ‘ह्रस्व दीर्घ २’ बन्न लागेको जानकारी गराएकी हुन् । उनले यतिबेला स्क्रिप्टको तयारीमा जुटेको समेत बताइन् । उनले भनेकी छीन्, ‘अब ‘ह्रस्व दीर्घ २’ बनाउँछौं । अहिले हामी स्क्रिप्टको तयारीमा छौं । यसपटक छायांकनमा भारतबाट धेरै सहयोग मिल्दैछ । जी नेटवर्कले पनि सहयोग गर्नेछ ।’
नीताले जी नेटवर्कलाई बेचेरै ‘ह्रस्व दीर्घ’को लगानी उठेको समेत दाबी गरेकी छन् । ‘ह्रस्व दीर्घ’मा नेपालीसहित दक्षिण भारत (साउथ)का चर्चित कलाकारहरुको समेत अभिनय थीयो । ब्रह्मानन्दम, ‘गजनी’ भिलेन प्रदीप रावत, ‘पुष्पा’ भिलेन सुनिल बर्मा, अली बासा, कबीर दुहन सिंहले फिल्ममा महत्त्वपूर्ण भूमिका निभाएका छन् । उनीहरुकै कारण जी नेटवर्कले फिल्मको ओटीटी राइट्स किनेको हो । यसैले फिल्मको सिक्वेलमा पनि उनीहरू दोहोरिने सम्भावना प्रवल देखिन्छ ।