
काठमाडौँ । ‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मंगलबारबाट काठमाडौँमा सुरु भएको छ । सरस्वतीनगर, चाबहिलस्थित चलचित्र बिकास बोर्डमा सुरु भएको महोत्सव तीन दिन अर्थात् बिहीबारसम्म चल्नेछ । ११५ औं महिला दिवसको अवसर पारेर चलचित्र बिकास बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले आयोजना गरेको महोत्सवको उद्घाटन काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गरिन् ।
कार्यक्रममा उपमेयर डंगोलले महोत्सव आयोजना भएकोमा खुसी व्यक्त गर्दै यसले चलचित्रमा धेरैभन्दा धेरै महिलालाई समेट्न टेवा पुगोस् भन्दै शुभकामना व्यक्त गरिन् । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले चलचित्र विकास बोर्डले निर्माण गर्न लागेको स्टुडियोमा काठमाडौँ महानगरपालिकाको सहकार्य चाहेको बताए । उनले बेग्लाबेग्लै स्टुडियो बनाउनुभन्दा उत्कृष्ट एउटै स्टुडियो निर्माण होस् भन्ने बोर्डको चाहना रहेको धारणा राखे । अध्यक्ष डिसीले तीनदिने महोत्सवमा तीनै दिन बेग्लाबेग्लै कार्यक्रम रहेको समेत जानकारी दिए । कार्यक्रमले महिला चलचित्रकर्मीलाई अगाडि बढ्न मद्दत मिल्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा वरिष्ठ कलाकार वसुन्धरा भुषाल, चैत्यदेवी सिंह, अभिनेता विश्व बस्नेत, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, चलचित्र पत्रकार संघका उपध्यक्ष कुबेर गिरी, कलाकार उत्तक केसी, सेन्सर बोर्डका सदस्य भूपेन्द्र खड्कालगायत थुप्रै चलचित्रकर्मीको सहभागिता थियो ।
महोत्सवको पहिलो दिन आज फिल्म ‘सिन्दुर’ प्रदर्शन गरिएको थियो । कार्यक्रमस्थलमा ललितकला कलेजका विद्यार्थीले ‘सिन्दुर’ चलचित्रका महिला चलचित्रकर्मीको स्केचसमेत बनाएका थिए ।