
काठमाडौं। कर्णालीको सुर्खेतमा तेस्रो कर्णाली फिल्म कार्यशाला आयोजना गरिने भएको छ। केवी इन्टरटेनमेन्ट प्रालिले कर्णालीमा आगामी ४ चैत देखि ९ चैतसम्म कार्यशाला आयोजना गर्न लागेको हो। गत वर्ष फागुनको २३ देखि २८ गतेसम्म दोस्रो कार्यशाला सुर्खेतमा आयोजना गरिएको थियो। पहिलो र दोस्रो कार्यशालामा फिल्म सम्बन्धि बेसिक कोर्स सिकेका विद्यार्थी र अन्य नयाँ विधार्थीहरूलाई यस पटक फिल्मबारे एडभान्स कोर्सको प्रशिक्षण लिनेछन्।
कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसाबले निकै सुन्दर छ। संस्कृति विविधताले भरिएको कर्णालीको कथा स्थानीय फिल्मकर्मी मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनकै लागि तीन वर्षबाट नियमित रुपमा कर्णाली फिल्म कार्यशाला आयोजना गर्दै आएको आयोजकको भनाई छ । यो कार्यशालामा यस पटक फिल्म विकास बोर्डका अध्यक्ष तथा लोकप्रिय कलाकार, दिनेश डिसी, पूर्व अध्यक्ष एवम् फिल्म निर्देशक दयाराम दाहालको विशेष कक्षा हुनेछ।
कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विद्यार्थीहरूले यो कार्यशालामा भाग लिने भएका छन्। फिल्म विकास बोर्डको सहकार्यमा हुने यो कार्यशालालाई नेपाल टेलिकम, नविल बैंक, एनसेलको सहयोग रहनेछ ।