
काठमाडौँ । अभिनेता बिराज भट्टले नयाँ चलचित्र राम नाम सत्यमा काम गर्ने भएका छन् । चलचित्रका निर्देशक माइकल चन्द र नायक विराज भट्टविच सोमबार कागजी संझौता भएको छ । चलचित्र ‘१२ गाउँ २’ बनाउन लागेको चर्चा चलिरहँदा विराजले ‘१२ गाउँ २’को काम तत्कालका लागि पछि सार्दै नयाँ चलचित्र साइन गरेका हुन् ।
म्युजिक भिडियो निर्देशन गर्दै आएका माइकल चन्दले यो चलचित्रको निर्देशन गर्न लागेका हुन् । चलचित्रमा कथा पनि उनको नै छ । चलचित्रको छायांकन आउँदो वर्षबाट सुरु गर्ने योजना माइकलको छ । चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने पक्का भइसकेको छ । चलचित्रमा उत्तम गुरुङ, उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहनेछ । नरेन्द्र शाह र सन्तोष अर्याल चलचित्रका कार्यकारी निर्माता हुन् ।
यो चलचित्रलाई एक्सन, लभ स्टोरी, कमेडीको कथामा निर्माण गरिनेछ । निर्देशक चन्दले दर्शकले यो चलचित्रमा केही फरक र विशेष गर्ने योजना लिएका कारण नै प्रि–प्रोडक्सनमा समय लगाएको बताए । नायक विराज भट्टले पनि यो फिल्ममा काम गर्न आफू उत्साहित रहेको बताएका छन् । चलचित्रका लागि अन्य कलाकार एकपछि अर्को रुपमा जानकारी दिदै जाने योजना निर्माणपक्षको छ ।