
काठमाडौँ । फिल्म ‘राजागञ्ज’ सेन्सर पास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका दृश्यसहित केही दृश्यमा कैँची चलाउँदै केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई प्रदर्शन अनुमति दिएको हो । फिल्मले सबैले हेर्न पाउने युनिभर्सल प्रमाणपत्र पाएको छ ।
दीपक रौनियार निर्देशित फिल्ममा ९ वर्षअघि एमाले अध्यक्षको रूपमा प्रधानमन्त्री ओलीले भनेका केही अभिव्यक्ति राखिएको थियो । जसमा केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो । अहिले फिल्म युनिटले उक्त दृश्य काटेपछि प्रदर्शन अनुमति पाएको हो ।
चैत १ गतेदेखि देशव्यापी प्रदर्शन हुने फिल्ममा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।