पुस, काठमाडौं । रेडियो नेपालमा कार्यरत गायक तथा संगीतकार मधुबाबु थापाको निधन भएको छ । ६३ वर्षको उमेरमा थापाको काठमाडौंको मोडेल अस्पतालमा बिहीबार निधन भएको हो ।
बिहीबार बाथरुममा लडेर घाइते भएपछि उपचारका क्रममा निधन भएको बताइएको छ । आज बिहान रेडियो नेपालको ड्युटी सकेर घर गइ नुहाउने क्रममा बाथरुममा लडेर घाइते भएपछि उपचारका क्रममा मोडेल अस्पतालमा निधन भएको हो । दाङ स्थायी घर भएका थापाले ५ सय भन्दा बढी लोक, आधुनिक, शास्त्रिय गीतमा स्वर र संगीत दिएका छन् । उनका ‘मोहनी लायौकी मन्तर गरेर’, ‘भैगो हजुर माया जाल नबुन’ लगायत दर्जनौं गीत चर्चित छन्। उनका थारु भाषाका गीत पनि चर्चित छन् ।
–
संगीत प्रभाकरको उपाधी पाएका गायक थापाको २०४४ सालमा निस्किएको ‘काठमाडौं दोहोरी’ एल्बम निकै चर्चित रह्यो । उनले २०५० सालमा लोकगीत संकलन पुरस्कार पाएका थिए । गायक थापा अहिले सानेपामा बस्थे । २०१० मा दाङको राजपुर गाविसमा जन्मिएका मधुबाबुको २ वर्षको उमेरमा आँखाको दृष्टि गुमेको थियो ।
–
आज (बिहिबार) बन्दका कारण उनको शवलाई अस्पतालले भोली मात्र परिवारलाई बुझाउने बताइएको छ । शव भोली बिहान अन्तिम श्रद्धान्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने परिवार श्रोतले बताएको छ ।