
काठमाडौं । बहु प्रतीक्षित नेपाली फिल्म ‘महाभोज’ आगामी जेठ १५ गते, गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ । यही तयारीलाई थप बल दिँदै निर्माण पक्षले आइतबार फिल्मका दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएका पोस्टरमध्ये एक पोस्टरमा फिल्मका प्रमुख ६ कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई समावेश गरिएको छ । पोस्टरको पृष्ठभूमिमा पैसा देखाइएकाले यो पोस्टरले फिल्ममा राजनीतिक र सामाजिक प्रतिविम्ब रहेको सङ्केत गर्छ ।
दोस्रो पोस्टर भने ग्रामीण परिवेशमा आधारित छ, जसमा मुख्य ६ कलाकारहरूसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूलाई पनि देखाइएको छ । ‘महाभोज’ सामाजिक यथार्थमा आधारित फिल्म हो जसमा नेपाली समाजको वर्ग सङ्घर्षलाई प्रस्तुत गरिएको छ, जसमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, आर्यनका साथै वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारहरूको दमदार अभिनय देख्न पाइनेछ ।