
काठमाडौँ । हरिवंश आचार्य अभिनीत फिल्म’भूठान’ प्रदर्शनका लागि सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको निर्माता अविरल थापाले जानकारी दिए। योसँगै सबै उमेर समूहका दर्शकले फिल्म हेर्न सक्नेछन्। अंग्रेजीमा द वल्र्डस् ह्याप्पिएस्ट म्यान नाम रहेको यो फिल्ममा हरिवंश आचार्यले फरक खालको भूमिका निर्वाह गरेका छन्। सार्वजनिक टिजर, ट्रेलरबाट फिल्मले राम्रो चर्चा पाइरहेको छ।
फिल्ममा हरिवंशका साथमा दयाहाङ राई, अदिति प्याकुरेल, जोयस पाण्डे, पूजा चन्द, ऋचा घिमिरे, अनुराधा मजुमदार, विमल सुवेदीसहित हलिउडका चर्चित अभिनेता ब्रुस डर्न समेतको अभिनय छ। बुलबुल फिल्मबाट चर्चा कमाएका विनोद पौडेलको लेखन तथा निर्देशनमा ‘भूठान’ बनेको हो।
भुटानी शरणार्थीको कथामा बनेको फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको हो। फिल्मको निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी, विनोद पौडेल र किर्तना बाँस्कोटा छन्। भूठान यही शुक्रबार अर्थात वैशाख १२ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ। फिल्मको रनटाइम १ घण्टा ४५ मिनेट तय छ।