
काठमाडौं । चर्चित भारतीय टिभी रियालिटी शो ‘बिग बोस’को सिजन १८ र संजयलीला भन्सालीको फिल्म ‘गंगुबाई कठियाबाडी’मा अभिनय गरेकी चुम दरङले नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । छायांकन तयारीमा रहेको एक्सन फिल्म ‘ऐरी’मा चुमले अभिनेता प्रदीप खड्काको अपोजिटमा ‘अनस्क्रिन रोमान्स’ गर्नेछिन् । दुई सातामा छायांकन तयारीमा रहेको यो फिल्मको कार्यशालाको लागि अभिनेत्री चुम यतिबेला काठमाडौंमा छिन् ।
कार्यशालामा उनले नेपाली भाषा सिकिरहेकी छिन् । यो फिल्मको मुख्य खलपात्रको भूमिकामा चाहिँ भुटानी अभिनेता सांगे सेल्ट्रिमले अभिनय गर्दैछन् । शाहरुख खानको बलिउड फिल्म ‘जवान’मा समेत अभिनय गरेका सांगेले ‘ऐरी’को लागि केही समयदेखि काठमाडौं आउजाउ गरिरहेका छन् ।
यो फिल्मको कलाकारमा प्रदीप, चुम र सांगेबाहेक सुनिल थापा पनि हुनेछन् । अरु थप चर्चित नेपाली अभिनेता पनि फिल्मसँग जोडिएको बताइएको छ । निर्माताले चाँडै औपचारिक जानकारी दिने तयारी गरेका छन् ।