
काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’ को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया सेन्टरस्थित क्युएफएक्स सिनेमा हलमा आयोजित प्रिमियरमा चलचित्रको टिम, पत्रकारहरू, र चलचित्रकर्मीहरूको उपस्थिति थियो । प्रिमियरमा ‘खेल’ का प्रमुख कलाकारहरू सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम लगायतको उपस्थिति रह्यो ।
प्रिमियरकै लागि भारतबाट यसका निर्देशक अनुराग प्रधान उपस्थित रहे भने अर्की निर्देशक आस्था श्रेष्ठसहित निर्माण टिम सहभागी रह्यो । प्रिमियरमा निर्देशक प्रधानले आफूले बलिउडमा सिकेको ज्ञान नेपाली चलचित्रमा लगाएको बताए । अभिनेत्री सुरक्षा पन्तले युवाहरूले सच्चा मनले बताएको यो चलचित्र सफल हुनेमा विश्वास व्यक्त गरिन् ।
मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ लगायतको समेत अभिनय रहेको ‘खेल’ लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन् । चलचित्र सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो, जसका निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह–निर्माताहरू कुणालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । चलचित्रको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् ।