
काठमाडौँ । आज शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘खेल’ र ‘भूठान’ । फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका यी दुवै फिल्म देशभर एक–अर्कोसँग भिड्न लागेका हुन् । फरक विषयवस्तुमा निर्माण भएको दुवै फिल्म राम्रो भएको दाबी गरिएको छ । ‘खेल’ अनुराग प्रधान र आस्था श्रेष्ठको संयुक्त निर्देशन रहेको फिल्म हो भने ‘भूठान ’ विनोद पौडेलले निर्देशन गरेका हुन् ।
सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य अभिनय रहेको ‘खेल’ नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर, र सस्पेन्सको मिश्रणमा आधारित रहेको बताइन्छ । अध्ययनका लागि काठमाडौँको होस्टेलमा बसेका ४ साथीहरूको कथा फिल्मले देखाउनेछ, जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छ ।
हरिवंश आचार्यको मुख्य भूमिका रहेको ‘भूठान’को अंग्रेजी नाम ‘द वल्ड्र्स ह्याप्पिएस्ट म्यान’ दिइएको छ । फिल्ममा आचार्यसहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, ,अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी र हलिउड अभिनेता ब्रुस डर्नको पनि अभिनय छ । साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो जसमा हलिउडका केही प्राविधिकले पनि काम गरेका छन् । फिल्मले भुटानदेखि भारत, नेपाल हुँदै अमेरिकामा बसोबास गरिरहेका भुटानीको देशप्रेम र थाकथलो छोड्न पर्दाको कथा र आफ्नो जराको खोजको कथा पेस गर्छ । फिल्मको छायाङ्कन अमेरिकामै भएको हो ।