‘जार’ को ‘ए ठूली’ बोलको गीत सार्वजनिक

...

काठमाडौं । चलचित्र ‘जार’ को ‘ए ठूली’ बोलको गीत सार्वजनिक गरिएको छ । झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा शब्द हर्क साउदको छ । झुमा लिम्बू स्वयंको संगीत रहेको गीत लोकलयमा आधारित छ । गीतले प्रेमको कुरा गर्छ । प्रेमिको पखाईमा आँखा बिच्छ्याएर बसेकी प्रेमिकाको कथा गीतले भनेको छ ।  उता लाहुरमा रहेको प्रेमीले गाउँमा रहेकी प्रेमिकाको सम्झना गर्दै मनमा रहेको मायाले पनि आफू पूर्ण रहेको प्रसंग गीतमा उल्लेख छ ।

‘जार’ यही वैशाख २६ गतेबाट प्रदर्शनमा आउँदैछ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, गिताञ्जली थापालगायत कलाकार फिचर्ड छन् । भिडियोले स्थानीय ग्रामीण जनजीवन चित्रण गरेको छ । ‘जार’ सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित रहेर बनेको चलचित्र हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो ।

सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ । चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ ।