
काठमाडौँ । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करण मे १३ देखि २४ तारिखसम्म हुदै छ । फेस्टिभलमा सहभागी हुन विश्वभरबाट कलाकार, निर्देशक, निर्माता तथा वितरकहरु कान्समा भेला भइरहेका छन् । यसपटक फेस्टिभलमा ‘मिसन इम्पोसिबल : द फाइनल रेकनिङ’ जस्ता फिल्मको प्रिमियर हुँदैछ ।
यस वर्ष कान्स फेस्टिभलको प्रतिस्पर्धामा कुनै नेपाली फिल्म छनोट नभए पनि नेपालको प्रतिनिधित्व गर्दै प्रदीप शाही निर्देशित फिल्म ‘एक्लो’को फेस्टिभलमा स्टल राखिने भएको छ । जहाँ फिल्मको टिमले अन्तर्राष्ट्रिय वितरकहरुलाई टिजर र छायांकनका दृश्य देखाउँदै विश्वव्यापी वितरणबारे छलफल गर्नेछ । यो फेस्टिभलमा पहिलो पटक नेपाली फिल्मको स्टल राखिन लागिएको हो ।
फेस्टिभलको प्रोड्युसर्स नेटवर्कमा छानिएका निर्देशक शाही आइतबार फ्रान्सको राजधानी पेरिस पुगिसकेका छन् भने निर्माताहरू रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, उत्सव विष्ट र बजारीकरण प्रमुखको रुपमा फिल्मकी को-अपरेटिभ डिरेक्टर रिश्ता कार्की कान्स मार्केटमा सहभागी हुनेछन् । फेस्टिभलमा फिल्मको स्टल राख्न निर्माताले ५० लाखभन्दा बढी खर्च गरेका छन् ।
यस वर्षको फेस्टिभलमार्फत नेपाल र ‘एक्लो’लाई कनेक्ट गर्न खोजेको निर्देशक शाहीले बताए । उनका अनुसार फेस्टिभल सुरु हुनुअघि नै ७ अन्तर्राष्ट्रिय वितरकले फिल्मप्रति रुचि राखेका छन् । फिल्मको वेबसाइटमा जानकारी हेरेर ४ अमेरिकी, २ जापानी र एक भारतीय वितरण कम्पनीले प्रस्ताव राखेको उनले बताए । ‘एक्लो’को यतिबेला बेलायतमा प्रि-प्रोडक्सनको काम भइरहेको छ ।