
काठमाडौँ । प्रतिस्पर्धामा छनोट नभएपनि कान्स फिल्म फेस्टिभल २०२५ का विभिन्न कार्यक्रममा नेपाली फिल्म ‘एक्लो’ सहभागी हुँदैछ । ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा सम्भवतः पहिलोपटक नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गर्न लागेको हो । मे १३ देखि २१ सम्म हुने कान्स मार्केटमा ‘एक्लो’का निर्माताहरू रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, उत्सव विष्ट कान्स मार्केटमा सहभागी हुनेछन् । फिल्मकी कोपरेटिभ डिरेक्टर रिश्ता कार्की बजारीकरण प्रमुखको रुपमा सहभागी हुनेछिन् । निर्माताले महंगो पैसा तिरेरै कान्स मार्केटमा स्टल राख्दैछन् ।
स्टलमा नेपालको झण्डा राख्ने तयारी छ । निर्देशक प्रदीप शाही स्वयम प्रोड्युर्स नेटवर्कमा सहभागी हुँदैछन् । उनी तयारीको लागि आइतबार पेरिस पुगेका छन् । ‘हामीले यसवर्षको कान्समार्फत नेपाल र एक्लोलाई कनेक्ट गर्न खोजेका छौं’ निर्देशक शाहीले बताए । कान्स सुरु हुनुअघि नै फिल्मबारे ७ अन्तर्राष्ट्रिय वितरकले फिल्मबारे रुचि राखेको शाहीले बताए । उनका अनुसार, वेबसाइटमा जानकारी हेरेर ४ अमेरिकी, २ जापानी र एक भारतीय वितरण कम्पनीले प्रस्ताव राखेका छन् ।
कान्स मार्केटमा ‘एक्लो’ले अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट, मेकर र ओटीटीमाझ फिल्म प्रवर्धन गर्नेछ । नेपालको छायांकन गन्तव्यबारे प्रचारप्रसार गर्ने, सम्भावित को–प्रोडक्सनबारे मार्केटमा ‘एक्लो’का निर्माताले पहल गर्नेछन् । शाही र ‘एक्लो’का केही कलाकार रेडकार्पेट र कुनै एक फिल्मको प्रिमियरमा पनि सहभागी हुने तयारीमा छन् । यद्यपि, यसबारे निधो हुन बाँकी छ । यो ‘साइन्स फिक्सन’ फिल्ममा प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेति, कविता नेपाली , त्रीचु राई , कृष्णभक्त महर्जनलगायत कलाकारको अभिनय छ। फिल्म ‘एक्लो’ का निर्माता राज कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् ।