
काठमाडौँ । फिल्म ‘के घर के डेरा : घर नम्बर २’ ले नयाँ अभ्यास सुरु गरेको छ । प्रिमियरमा अतिथिहरूको प्रतिक्रिया झूठा हुन सक्ने भन्दै, आम दर्शकबाट इमान्दार प्रतिक्रिया प्राप्त गर्नका लागि फिल्मका कलाकारहरूले काठमाडौंका विभिन्न स्थानमा पुगेर सर्वसाधारणलाई प्रिमियरको निम्तो दिँदै, यस नयाँ अभ्यासको सुरुवात गरिरहेका छन्।
आज बेलुका काठमाडौंको एक हलमा हुने प्रिमियर समारोहमा यो दृश्य देख्न पाइनेछ । फिल्मले झण्डै २०० हाराहारीमा सर्वसाधारण दर्शकलाई प्रिमियरमा सहभागी गराउने भएको छ । बाटो, मल र बजारमा ‘र्यान्डम्ली’ भेटिएका सर्वसाधारणलाई फिल्म हेर्न बोलाइएको छ ।
कलाकार केकी अधिकारी, खगेन्द्र लामिछाने र निश्चल बस्नेतले काठमाडौंका विभिन्न मल, बजार र चोक चोकमा पुगेर सर्वसाधारणलाई प्रिमियरको निम्तो दिएका थिए । प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको भनिएका फिल्मले दर्शकबाट आलोचना पाउन थालेपछि ‘के घर के डेरा’ले यो शैली सुरु गरेको हो । चलचित्र फिल्म ‘के घर के डेरा : घर नम्बर २’ शुक्रबारदेखि प्रदर्शन तयारीमा छ ।