
काठमाडौँ । गत बैशाख २६ गतेबाट प्रदर्शन भएको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’लाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । यतिबेला विदेशमा फिल्मको माग बढेको छ । भारतमा गत हप्ताबाटै प्रदर्शनमा आएको यो फिल्मको बिहीबारबाट मध्यपूर्वका देश र शुक्रबारबाट अमेरिका सहितका देशहरुमा प्रदर्शन सुरु भएको छ ।
निर्माण कम्पनी फेरि टेल पिक्चर्सले संयुक्त अरब इमिरेट्स (युएई), कतार र बहराइनमा बिहीबारबाट फिल्म प्रदर्शनमा आएको जनाएको छ । शुक्रबारबाट यूएसए, यूके, अष्ट्रेलिया, क्यानडा, साउथ अफ्रिकासँगै युरोपका विभिन्न देशमा प्रदर्शन आरम्भ भएको छ ।
साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित ‘जार : भएकै एउटा कथा’मा आधारित फिल्मले दुई सय वर्ष पुरानो नेपाली समाजको वास्तविक कथा बोल्छ । यसमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापाको मुख्य भूमिका छ । सरवानन इलावार्सुको डीओपी रहेको फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।