नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘शाम्बाला’

...

काठमाडौँ । अमेरिकाको मेरिल्यान्डमा आयोजित ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ मा प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक गरिएको छ । गत वर्ष बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा रहेको मीन बहादुर भामद्वारा निर्देशित ‘शाम्बाला’, दीपक रौनियारद्वारा निर्देशित ‘पूजा सर’ (राजागंज) र  बिनोद पौडेलद्वारा निर्देशित ‘भुठानः वर्ल्ड हापिस्ट म्यान’ लगायतका चलचित्र महोत्सवमा प्रदर्शन हुनेछन् ।

जुन महिनाको २६ देखि २९ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदी लगायत १५ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१ चलचित्रहरू प्रदर्शन हुनेछन् । महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुनेछ । चार दिनसम्म चल्ने महोत्सवका चलिचत्रहरू भने एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ । महोत्सवमा प्रदर्शनका लागि आवेदन परेका मध्येबाट अमेरिका, नेपाल र दक्षिण अफ्रिकाका फिल्मकर्मीहरुको छनोट समितिले चलचित्रहरू छनौट गरेको हो ।

प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । पुरस्कार छनौटका लागि निर्णायक मण्डलको नाम भने केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ । महोत्सव अवधिमा चलचित्र र संस्कृति, प्यानल छलफलका साथै र चलचित्र निर्माणबारे मास्टर क्लासु पनि हुनेछ । मेरिल्यान्ड राज्यको पाक्र्स तथा योजना आयोगको सहयोगमा उक्त छलफल हुने जनाइएको छ ।