
काठमाडौं । वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली युवाहरूको सपना, सङ्घर्ष र बिछोडको मार्मिक कथामा आधारित चलचित्र ‘रियाल रिङ्गेट’ आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । रेबेल फिल्म्सले शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो । विभोर पोखरेलले निर्देशन गरेको यस चलचित्रका निर्माता गगनलाल प्रधान हुन् । निर्देशक पोखरेलले हजारौँ म्युजिक भिडियो निर्देशनको अनुभव सँगालेका छन् भने निर्माता प्रधान दशकौँदेखि गीत सङ्गीत निर्माणमा सक्रिय छन् । चलचित्रको लेखन प्रदीप भारद्वाजले गरेका हुन् ।
चलचित्रको नाम नेपालीहरू मजदुरी गर्न जाने देशहरू कतार तथा साउदी अरेबियाको करेन्सी (रियालु )र मलेसियाको करेन्सी (रिङ्गेटु) लाई मिसाएर बनाइएको छ । यसको पोस्टरमा भावनात्मक गहिराइ झल्काइएको छ । पोस्टरको ट्यागलाइनमा लेखिएको छ, “जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो ।” यो ट्यागलाइनले चलचित्रको समग्र मर्मलाई एक वाक्यमा समेटेको छ, जसले सपनाभित्र लुकेको दुःख, शोषण, परायापन र कहिलेकाहीँ मृत्युजस्ता कठोर यथार्थलाई चित्रण गर्छ । यो छोटो कविता कवि नाथन रायनले लेखेका हुन् ।
पोस्टरको माथिल्लो भागमा देखिएकी महिला पात्रको अनुहारमा पीडा, अपुरो आशा र शून्यता देखिन्छ । पोस्टरको बीच भागमा विभिन्न सामाजिक पृष्ठभूमिका पात्रहरूलाई प्रस्तुत गरिएको छ, जसले गरिबीले थिचिएका र अनगिन्ती सपना बोकेर बिदेसिएका नेपाली युवा शक्तिको प्रतिनिधित्व गर्छन् ।पृष्ठभूमिमा प्रवासी मुलुकको सहरका विशाल गगनचुम्बी भवनहरूले मलेसिया, कतार वा युएईजस्ता खाडी मुलुकहरूको सङ्केत गर्छ, जहाँ हजारौँ नेपालीहरू रियाल वा रिङ्गेटको सपना बोकेर पुगेका छन् । पोस्टरले नै यी सपनाभित्र लुकेका कठोर यथार्थलाई चलचित्रले उजागर गर्ने सङ्केत गर्छ ।
चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, बिमला गिरीलगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ ।
‘रियाल रिङ्गेट’ का गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत रहेको छ । सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर रहेका यी गीतका शब्द अमर न्यौपाने, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन् । यो चलचित्रको छायाङ्कन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको छ । चलचित्रलाई काफिया फिल्म्सले वितरण गर्दैछ ।