काठमाडौँ । माघ ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बिगुल’को टिजर सार्वजनिक गरिएको छ। सवा एक मिनेट लामो टिजरले देशको समसामयिक राजनीति, युवापुस्ताको आवाज र नागरिक जिम्मेवारीलाई केन्द्रमा राख्दै फिल्मप्रति चासो बढाएको छ।
रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’को टिजरमा देशप्रेम, परिवार, समाज र सम्बन्धसँगै पछिल्लो समय चर्चामा रहेको जेन्जी आन्दोलनको झल्को देखिन्छ। समान प्रकृतिका विषयवस्तुमा आधारित फिल्महरूको भीडमा ‘बिगुल’ले राजनीतिक चेतना र मनोरञ्जनलाई एकसाथ प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ।
कथाकार तथा निर्माता दिनेश कोइरालाका अनुसार फिल्मले अहिलेको पुस्ताको चाहना, परिवर्तनको आकांक्षा र देश विकासप्रतिको जनभावनालाई कथामा समेटेको छ। “मनोरञ्जनसँगै सोच्ने फिल्म बनाउने प्रयास गरेका छौं,” निर्देशक कोइरालाले बताएका छन्।
म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको ‘बिगुल’मा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, सरोज खनाललगायत कलाकारको अभिनय छ। फिल्मको वितरण काफिया फिल्म्स र श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले गर्नेछन्।




२९ मंसिर २०८२, सोमबार १७:४७ 






