काठमाडौं । गत वर्ष ब्लकबस्टर बनेको चलचित्र ‘बोक्सीको घर’को सफलतापछि अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारती फेरि एकपटक नयाँ प्रोजेक्टमा सहकार्य गर्ने भएका छन्। उनीहरूले नयाँ सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘पेट्रोल पम्प’ निर्माणको घोषणा गरेका हुन्।
चलचित्रलाई सुलक्षण भारतीले निर्देशन तथा कथा लेखन गर्नेछन् भने केकी अधिकारी निर्माता रहनेछिन्। ‘पेट्रोल पम्प’ विसं. २०८३ मा रिलिज गर्ने तयारी गरिएको निर्माणपक्षले जनाएको छ। कलाकार र प्राविधिक टिमबारे विस्तृत जानकारी भने पछि सार्वजनिक गरिनेछ।
‘बोक्सीको घर’ले ११ करोडभन्दा बढी ग्रस कलेक्सन गर्दै दर्शकको राम्रो प्रतिक्रिया पाएको थियो। सोही नयाँपन र फरक स्वादलाई निरन्तरता दिने लक्ष्यसहित ‘पेट्रोल पम्प’ ल्याउन लागेको केकीले बताएकी छन्।






२५ पुष २०८२, शुक्रबार १०:१६ 










