नयाँ वर्षमा ‘मालती मंगले’को माहोल, भक्तपुरबाट प्रचार सुरु

...

काठमाडौँ । रिलिजको तयारीमा रहेको चलचित्र ‘मालती मंगले’ले नयाँ वर्षको अवसर पारेर भक्तपुरमा भव्य कार्यक्रम गर्दै प्रचार अभियान औपचारिक रूपमा सुरु गरेको छ। कार्यक्रममा ठूलो संख्यामा उपस्थित दर्शकले चलचित्रप्रति उत्साह देखाएका थिए।

कार्यक्रममा निर्माता तथा गायक रामकृष्ण ढकाल र गायिका ऋतिका श्रेष्ठले ‘ढुंगामाथी लेउ’ गीत प्रस्तुत गर्दा माहोल ततिएको थियो भने कलाकार मेक्सम गौडेलले हास्य शैलीमा दर्शकलाई रमाइलो गराएका थिए। सो अवसरमा चलचित्रको टिजर पनि सार्वजनिक गरिएको थियो।

मुख्य कलाकार विजय बराल र वर्षा राउत कार्यक्रममा अनुपस्थित रहे पनि आगामी प्रचार कार्यक्रममा सहभागी हुने निर्माण पक्षले जनाएको छ।

प्रकु पाण्डेयको निर्देशनमा बनेको ‘मालती मंगले’मा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रका केही गीत सार्वजनिक भइसकेका छन् भने वितरण आरआर फिल्म्सले गर्नेछ।