बाः एक योद्धा’ भदौ १९ मा रिलिज हुने

...

काठमाडौँ । चलचित्र ‘बाः एक योद्धा’को प्रदर्शन मिति भदौ १९ गते तय गरिएको छ । हरि लम्सालको निर्देशनमा बनेको यो चलचित्र सोही दिन देशभरका सिनेमाघरमा एकसाथ रिलिज हुने भएको हो । बुबाको त्याग र परिवारिक सम्बन्धको कथावस्तुमा आधारित यस फिल्ममा झरना थापा, सुहाना थापा र दिव्यदेव पन्त मुख्य भूमिकामा छन् ।

चलचित्रको शीर्षकले यो एक शुद्ध सामाजिक कथाबस्तु हुने संकेत गर्छ । नेपाली परिवारमा बुवाको महत्त्व, उनले सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई एउटा ‘योद्धा’को रूपमा चित्रण गर्न खोजिएको बुझिन्छ । विशेषगरी ग्रामीण तथा सहरी समाजमा एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारीको कथालाई यो चलचित्रले पर्दामा उतार्नेछ ।

यस्तै, भदौ १९ मै अर्को प्रतीक्षित चलचित्र ‘ककाकिकी’ पनि प्रदर्शनमा आउने भएको छ । चर्चित कमेडी शो ‘कमेडी दरबार’को टिमले निर्माण गरेको यो फिल्मलाई लिएर पनि दर्शकमा ठूलो उत्साह देखिएको छ ।

एकै मितिमा दुई प्रतीक्षित चलचित्र रिलिज हुने भएपछि बक्सअफिसमा प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । ‘बाः एक योद्धा’ सामाजिक कथामा आधारित भावनात्मक ड्रामा हो भने ‘ककाकिकी’ कमेडी शैलीको मनोरञ्जनात्मक फिल्म भएकाले दर्शकको रोजाइ कुनतर्फ जान्छ भन्ने चासो बढेको छ ।