काठमाडौँ — चलचित्र ‘गौँथली’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमार्फत चलचित्रको भावनात्मक कथा र मुख्य पात्रहरूको सम्बन्धलाई उजागर गरिएको छ । चलचित्र आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
निर्देशक डा. कपिल रिजाल ले निर्देशन गरेको यस चलचित्रको टिजरमा श्रीमान्, श्रीमती र आमाबीचको सम्बन्ध, संघर्ष र पारिवारिक द्वन्द्वलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ । टिजरले आमाले छोरीको घर बसाउन गरेको प्रयास, छोरीले वैवाहिक जीवनमा भोग्नुपरेको पीडा तथा परिवारभित्रको जटिल सम्बन्धलाई मार्मिक रूपमा देखाएको छ ।
मुख्य भूमिकामा अरुण क्षेत्री र सिम्रन खड्का रहेका छन् । टिजरमा अरुण क्षेत्रीको कठोर व्यवहार र सिम्रन खड्काको भावनात्मक संघर्षले दर्शकलाई भावुक बनाउने संकेत देखिन्छ ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपाली लगायत कलाकारहरूको अभिनय रहेको छ । साथै बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली पनि देखिनेछन् ।
कथा डा. भोला रिजाल ले लेखेका हुन् भने पटकथा तथा संवादमा निर्देशक कपिल रिजालसहित निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । चलचित्र ‘गौँथली’को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सम्बन्ध रहेको निर्माण पक्षले जनाएको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुति रहेको यस चलचित्रका कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्मातामा सुमन गिरी र कपिल रिजाल छन् । सह–निर्मातामा इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली रहेका छन् ।
चलचित्रको संगीतमा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको योगदान रहेको छ भने पाश्र्व संगीत एलिस कार्कीले गरेका छन् । छायांकन हरि हुमागाईंले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक छन् । ध्वनि मिश्रण मुकेश शाह, रंग संयोजन राजेन्द्र मोक्तान तथा कोरियोग्राफी रामजी लामिछाने र मौसम हिमालीले गरेका हुन् ।
चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन् भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।
पुरानो नेपाली चलचित्र ‘गौँथली’ दुई दशकअघि डा. भोला रिजालले निर्माण गरेका थिए, जसलाई नेपालको पहिलो ‘गीति फिल्म’ मानिन्छ । सोही नाममा अहिले निर्देशक कपिल रिजालले नयाँ पुस्ताका लागि नयाँ कथा लिएर चलचित्र निर्माण गरेका हुन् ।





१४ जेष्ठ २०८३, बिहीबार १५:०४ 










