जितु नेपालको चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक

...

काठमाडौँ । अभिनेता जितु नेपालको निर्माण तथा शीर्ष भूमिकामा रहेको चलचित्रआइ एम जीत बहादुरको ट्रेलर सार्वजनिक गरिएको छ। आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर राजधानी काठमाडौँमा आयोजित विशेष कार्यक्रममार्फत तथा ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरले गाउँको सामान्य परिवेशबाट शहरमा सपना बोकेर आइपुगेको एक युवाको कलाकार बन्ने संघर्ष, उतारचढाव र भावनात्मक यात्रालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। ट्रेलरमा जितु नेपालको फरक र गहिरो चरित्र अवतार देख्न सकिन्छ, जहाँ उनले आफ्नो पहिचान बनाउन संघर्षरत एक युवाको भूमिका निभाएका छन्।

भारतीय बंगाली निर्देशक सुभेन्दु घोष को कथा तथा निर्देशनमा बनेको यस चलचित्रमा जितु नेपालको अपोजिटमा अभिनेत्री वर्षा राउत देखिएकी छन्। निर्माण टिमका अनुसार यसअघि सार्वजनिक गरिएको टिजरले दर्शकमाझ राम्रो प्रतिक्रिया पाएको थियो, जसले फिल्मप्रतिको अपेक्षा थप बढाएको छ।

चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडाबाबा’, निरज नेपाल, अन्सु महर्जन लगायतका कलाकारहरूको अभिनय रहेको छ। कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सहनिर्माताका रूपमा रहेका छन्।

छायांकन भारतीय सिनेमाटोग्राफर अरविन्दले गरेका हुन् भने पोस्टप्रोडक्सनका सम्पूर्ण काम भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ।

आइ एम जीत बहादुरको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ। तीन दशकभन्दा लामो अभिनय यात्रामा हास्यदेखि चरित्र भूमिकासम्म फरक पहिचान बनाउँदै आएका जितु नेपालका लागि यो चलचित्रलाई विशेष परियोजनाका रूपमा हेरिएको छ।