शनिबार सिनेमा हलमा ८ नेपाली फिल्मः कुनले कति शो पाए ?

...

काठमाडौँ । नेपाली फिल्म उद्योगका लागि शनिबारलाई सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ। बिदाको दिन भएकाले दर्शकको चाप बढी हुने र आम्दानी पनि उल्लेख्य हुने अपेक्षा गरिन्छ। यही कारण शनिबारको शो संख्या फिल्मको बजार अवस्था बुझ्ने एउटा प्रमुख आधार बन्ने गरेको छ।

आज देशभरका सिनेमा हलमा ८ वटा नेपाली र ६ वटा विदेशी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्मतर्फ भने सबैभन्दा बढी शो प्राप्त गर्दै ‘लालिबजार’ शीर्ष स्थानमा देखिएको छ। गएको वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले अहिले पनि दर्शकको राम्रो साथ पाइरहेको छ। फिल्मले तेस्रो सातामा प्रवेश गर्दा नै ५ करोड माथीको ग्रस कलेक्सन गरिसकेको थियो ।

आज शनिबार ‘लालिबजार’ले देशभरबाट १५५ शो पाएको छ। दोस्रो स्थानमा रहेको नयाँ रिलिज ‘रोल नं १’ले १३१ शो पाएको छ। गएको शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मले सुरुवाती दिनमै हलबाट उत्साहजनक साथ पाएको देखिन्छ । यद्यपी रोल नं १ मा दर्शकको संख्या उल्लेख्य भने देखिदैन ।

यस्तै, ‘मितज्यू’ले ५१ शो पाएको छ। यसैसँग रिलिज भएको ‘काजी’ले भने १५ शो मात्रै पाएको छ। यी दुवै फिल्मलाई दर्शकबाट मध्यम प्रतिक्रिया मिलिरहेको छ । गत शुक्रबारबाट रिलिज भएको अर्को फिल्म ‘कुम्भ’ले ९ शो पाएको छ । यो फिल्ममा दर्शकको खासै चासो देखिदैन ।

उता, रिलिजअघि खासै प्रचार–प्रसार नभएको ‘सेप अफ मम’ले २१ शो पाएको छ। तर, हलमा यसको व्यापार भने कमजोर देखिएको छ। ‘लाइफ ड्यामेज’ले ३ शो पाएको छ।

सबैभन्दा कम शो पाउने फिल्म बनेको छ ‘परालको आगो’। बाँकेको एक हलमा मात्रै प्रदर्शन भइरहेको यो फिल्मले आज १ शो पाएको छ। तर, यो फिल्म बैशाख ११ बाट रिलिजमा आएकाले अहिले कम शो देखिएको हो । फिल्मले ४ करोड रुपैयाँ माथीको ग्रस कलेक्सन गरिसकेको छ ।

आज शनिबार नेपाली फिल्मले पाएका शो संख्यालाई तालिकाबद्ध तरिकाले हेरौं ।

लालिबजार – १५५
रोल नं १ – १३१
मितज्यू – ५१
सेप अफ मम – २१
काजी – १५
कुम्भ – ९
लाइफ ड्यामेज – ३
परालको आगो – १ (बाँकेमा मात्र)

शनिबारको शो वितरण हेर्दा पुराना फिल्मले अझै बजार पकड कायम राखेका छन् भने नयाँ रिलिज फिल्मले पनि हलमा राम्रो उपस्थिति जनाउन थालेका छन्। विदेशी फिल्मको दबाबबीच नेपाली फिल्महरूले प्राप्त गरेको शो संख्या भने उद्योगका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।