१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन सम्झौता

...

काठमाडौं । १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि करिब १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र ग्लोबल आइएमई बैंकको अगुवाइमा रहेको बैंकहरूको कन्सोर्टियमबीच सम्झौता सम्पन्न भएको हो।

कुल २५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंक सहभागी छन्। कन्सोर्टियमअन्तर्गत ग्लोबल आइएमई बैंकले ५ अर्ब, सिद्धार्थ बैंकले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले ४ अर्ब, प्रभु बैंकले ३ अर्ब ५० करोड, कृषि विकास बैंकले १ अर्ब ५० करोड र नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन्।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने आयोजनामा बैंकहरूले ७५ प्रतिशत र संस्थापक तथा अन्य लगानीकर्ताले २५ प्रतिशत लगानी गर्नेछन्। आयोजना निर्माण सुरु भएको पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सम्झौतापछि ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना समयमै सम्पन्न भई देशको ऊर्जा उत्पादन क्षमता वृद्धि तथा विद्युत् निर्यात प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।