यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

...

काठमाडौँ । चलचित्र ‘बाः एक योद्धा’ले नयाँ कलाकार रिबिल गरेको छ । पब्लिसिटी स्टाटेजी अन्तर्गत छायांकन सकेर पोस्ट प्रोडक्सनको चरणमा रहेको चलचित्रले नयाँ कलाकारको नाम सार्वजनिक गरेको हो ।

सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापाको नाम निर्माण टिमले आज सार्वजनिक गरेको छ । छायांकन सकेर पोस्टको काम समेत सुरु भइसक्दा पनि यी कलाकारलाई निर्माण टिमले गोप्य राखेको थियो ।

‘बाः एक योद्धा’मा यी बाहेक मुख्य भूमिकामा अभिनेत्री झरना थापा, सुहाना थापा र अभिनेता दिव्यदेव पन्त छन् । यी कलाकारको नाम भने यसअघि नै सार्वजनिक भइसकेको थियो । कलाकारको यो लाइनअपले सिनेमा बलियो बनेको अनुमान गर्न सकिन्छ ।

सागर खनाल चलचित्र ‘११ः५५ तथा शिशिर सिवाकोटी ‘बेहुली फ्रम मेघौली’ र ‘सानो संसार’बाट तारिफ बटुलेका अभिनेता हुन् ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो । सिनेमाको कथासँग रिलिज डेट म्याच गराउँदै यो सिनेमा कुशे औंसीमा प्रदर्शनमा आउन लागेको हो ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर फिल्ममा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जकसमेत रहेका लम्सालले यसअघि अभिनेता विपीन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए । ‘बाः एक योद्धा’ले नेपाली समाजको वास्तविक पक्षलाई उजागर गर्नेछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा स् एक योद्धा’को मुख्य कथा हो ।

शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा स् एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।