काठमाडौँ । चलचित्र बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले फिल्मको शीर्ष पात्र बा’ वास्तवमा को हुन् भन्ने रहस्य खुलाउँदै अभिनेता दिव्य देव नै संघर्षशील बुवाको भूमिकामा रहेको पुष्टि गरेको छ।
पोस्टरमा दिव्य देव तनावपूर्ण अवस्थामा देखिएका छन् भने उनकी छोरीको भूमिकामा सुहाना थापा छिन्। पोस्टरले झरना थापा दिव्य देवकी श्रीमती तथा सुहानाकी आमाको भूमिकामा रहेको संकेत पनि गरेको छ। साथै, घरको फाटेको भित्तामा टाँसिएको पारिवारिक तस्वीर, जग्गाधनी पूर्जा, आकाशमा उडिरहेको विमान र मध्यमवर्गीय परिवेशले सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र वैदेशिक रोजगारी वा अध्ययनसँग जोडिएको कथाको झल्को दिन्छ।
भदौ १९ गते प्रदर्शनमा आउने चलचित्रले नेपाली समाजका बुवाहरूले परिवारका लागि गर्ने त्याग र जीवनभरको संघर्षलाई मुख्य विषय बनाएको छ।
चलचित्रमा दिव्य देव, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन्।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। कथा तथा पटकथा पनि लम्सालकै रहेको फिल्मका निर्माता वसन्त लम्साल हुन्। शिवराम श्रेष्ठ छायांकार, तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेका छन् भने आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।




७ असार २०८३, आईतवार १२:२२ 






